पाँचथर। पूर्वी नेपालको भौगोलिक बनावटसँगै बग्ने तमोर नदीको काखै–काख हुँदै अघि बढेको तमोर करिडोर सडक केवल एक यातायात मार्ग मात्र होइन, सम्भावनाको उज्यालो ढोका पनि हो। यो सडक पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने द्रुतमार्ग मात्र नभई छिमेकी मुलुक चीन र भारतसँग नेपाललाई सडक सञ्जालमार्फत् जोड्ने रणनीतिक महत्व बोकेको महत्वपूर्ण मार्ग समेत हो।
हाल पाँचथरको गणेशचोकदेखि धनकुटाको मूलघाटसम्मको करिब ११० किलोमिटर खण्ड कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यसमध्ये करिब ७३ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने बाँकी खण्डमा निर्माण कार्य जारी छ। यस मार्गअन्तर्गत पर्ने कम्बुवा, लखुवा, रघुवा, छरुवा र नावा खोलामा मोटरेबल पुल निर्माण भइरहेको छ भने हेंवा, लारिप्पा र बगुवा खोलामा समेत निर्माण प्रक्रिया सुरु हुने तयारीमा रहेको जनाइएको छ।
गणेशचोकदेखि मूलघाटसम्मको यात्रा आफैंमा एक रोमाञ्चक अनुभव हो। तमोर नदीको किनारै–किनार फैलिएको यो सडक हुँदै यात्रा गर्दा नदीको अविरल बहाव, हरियाली पहाड र फाँटहरूको अनुपम सौन्दर्यले मनलाई मोहित बनाउँछ। पाँचथरका भुल्के, साँवासेरा, हाक्पारा, लोखुवा तथा धनकुटाका भैंसेटार, फलामेटार, सदामटार, हंसमोरङ, याक्चाना जस्ता रमणीय र फाँटिला बस्तीहरूको दृश्यले यात्रालाई झन् अविस्मरणीय बनाइदिन्छ।
नदीसँगै अघि बढ्ने यो मार्गमा यात्रा गर्दा प्राकृतिक सुन्दरतासँगै एक किसिमको एड्भेन्चर अनुभूति पनि प्राप्त हुन्छ। यो सडकले विशेषगरी पाँचथरका कुम्मायक र तुम्बेवा तथा धनकुटाका चौबिसे र साँगुरीगढी गाउँपालिकाका तल्लो भेगका बासिन्दाका लागि विकासका नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।
पहिले भौगोलिक विकटताका कारण गाउँ छोड्न बाध्य भएका धेरै परिवारहरू अहिले सडक सञ्चालनमा आएपछि र कालोपत्रे विस्तार भएसँगै पुनः गाउँ फर्किन थालेका छन्। यसले ग्रामीण जीवनमा नयाँ आशा र उत्साह थपेको छ।
ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दाका लागि पूर्वका प्रमुख शहरहरू—धरान, विराटनगर र इटहरी—तर्फको यात्रा यस करिडोरले छोटो र सहज बनाएको छ।
तमोर नदीको सुस्केरासँगै, किनारका मनमोहक दृश्यहरूमा रमाउँदै यात्रा गर्न चाहनेहरूका लागि गणेशचोक–मूलघाट खण्ड एक रोमाञ्चक यात्रानुभूति संगाल्न सकिने प्याकेज बन्न सक्छ। प्राकृतिक सौन्दर्य, साहसिक अनुभूति र विकासको गतिलाई एकसाथ अनुभव गर्न चाहनुहुन्छ भने तमोर करिडोर सडकको यात्रा अवश्य गर्नुहोस—यो यात्रा केवल दूरी पार गर्ने माध्यम होइन, अनुभूति बटुल्ने अवसर पनि हुनेछ।