पाँचथर। मेची राजमार्ग– सुदूरपूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने प्रमुख र ऐतिहासिक सडकमार्ग ।
यही राजमार्गलाई झापाको चारआलीबाट पछ्याउँदै इलाम हुँदै पाँचथरको रमिते पुग्दा तलतिर देखिने सुन्दर बजार हो, फिदिम । यो पाँचथर जिल्लाको सदरमुकाम हो । चारैतिर हरिया डाँडाकाँडाले घेरिएको, बीचको समथर भू–भागमा बसेको फिदिमले मिनी उपत्यकाको झल्को दिन्छ । पूर्वी पहाडका बजारहरूमध्ये सुन्दर भू–बनावटका कारण फिदिम विशेष रूपमा परिचित छ । यसको प्राकृतिक बनावट र बढ्दो विकासले यसलाई आज पूर्वी पहाडको महत्वपूर्ण ट्रान्जिटका रूपमा स्थापित गरेको छ ।
स्वच्छ प्रकृति, मनमोहक भूगोल, मौलिक संस्कृति, कला–साहित्यको उर्वरता तथा मुन्धुमी र ऐतिहासिक विशिष्टताले फिदिम धेरैको रोजाइमा पर्छ । यात्राका क्रममा छोटो समयका लागि भए पनि यहाँ रोकिने, सुस्ताउने र प्रकृति तथा संस्कृतिको अनुभूत गर्ने चाहना धेरैमा रहन्छ ।
फिदिम हुँदै उत्तर–पूर्वी पाँचथरमा अवस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रका पर्यटकीय गन्तव्य फालोट, चारराते, तीनसिमाना, चिवाभञ्ज्याङ पुग्ने पर्यटक हुन् वा ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा÷मुक्कुम्लुङ जाने दर्शनार्थी, सबैका लागि फिदिम अनिवार्य ट्रान्जिट बन्छ । त्यसैगरी तमोर नदी तरेर मध्यपहाडी लोकमार्ग हुँदै तेह्रथुमको आठराई, झाँक्री गुफा, ह्यात्लुङ झरना, म्याङलुङ, बसन्तपुर हुँदै गुराँसको राजधानी तिनजुरे–मिक्ले–जलजले (टिएमजे) क्षेत्र पुग्ने यात्रुहरूका लागि पनि फिदिम अपरिहार्य विश्रामस्थल हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार ताप्लेजुङ बाहिरबाट मात्र वार्षिक सरदर दुई लाखभन्दा बढी दर्शनार्थी पाथीभरा÷मुक्कुम्लुङ पुग्छन्, जसको प्रमुख ट्रान्जिट फिदिम नै हो ।
फिदिमको मौलिक नाम ‘फेदेन’ हो । याक्थुङ (लिम्बू) भाषामा ‘फे’ भनेको ‘सम्म’ र ‘देन्/तेन्’ भनेको ‘ठाउँ’ हो । त्यसैले ‘फेदेन’ को अर्थ ‘सम्म परेको ठाउँ’ हुन्छ, जुन यसको भौगोलिक बनावटसँग मेल खान्छ । पाँचथर याक्थुङ (लिम्बू) समुदायको बाहुल्यता रहेको जिल्ला हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँ ४३.३७ प्रतिशत लिम्बू समुदायको बसोबास छ भने ४२.२७ प्रतिशतले लिम्बू भाषा बोल्छन् । यसैले फिदिम पुग्दा यहाँको मौलिक लिम्बू संस्कृति, परम्परा र खानपानसँग नजिकिने अवसर प्राप्त हुन्छ ।
फिदिमको गढी डाँडामा अवस्थित सुम्जिरी सुम्हात्लुङ (आम्बेपज?) ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल हो । इशाको छैठौं–सातौं शताब्दी आसपासको समयमा स्थापना भएको मानिने यो स्थल लिम्बुवानको वीरता, इतिहास र मुन्धुमको प्रतीक मानिन्छ । इतिहास अनुसार दस लिम्बू सरदारहरूले यहीँ चुम्लुङ (सभा) बसेर ‘लिम्बुवान’ राज्यको नामकरण गर्दै वर्तमान संघीय शासन प्रणाली शैलीकै शासन व्यवस्थाको प्रारम्भ गरेका थिए ।
फिदिम हुँदै बग्ने थाङसाङ खोला मुन्धुममा वर्णित पवित्र खोला मानिन्छ । नजिकैका ओदेन डाँडा र ओमदेन् (रमिते) भ्यू–टावरबाट फिदिमको दृश्यावलोकन गर्दा रोमाञ्चक अनुभूति हुन्छ । अझ माथि उकालिँदा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पावन कर्मभूमि लब्रेकुटी पुगिन्छ । जहाँको धार्मिक वातावरणले मनलाई शान्ति प्रदान गर्छ भने त्यहाँको प्राकृतिक सुन्दरताले अल्हादित बनाउँछ ।
फिदिमको पुरानो बजार ‘जोरसाल’ हो । जसले यस क्षेत्रको व्यापारिक इतिहास बोकेको छ । यहाँबाट करिब १० किलोमिटर दूरीमा तमोर नदी किनारको माझीटार पुगिन्छ । माझी समुदायको बसोबास रहेको यो स्थान मध्यपहाडी लोकमार्ग र तमोर करिडोर सडकका कारण व्यापारिक केन्द्रका रूपमा स्थापित हुने क्रममा छ । छोंटो फुर्सदको समयलाई सदुपयोग गर्दै रिफ्रेस हुने फिदिमदेखि नजिकको गन्तव्य बनेको छ, माझीटार । तमोर नदीको सुसाइ, ताजा लोकल माछाको स्वाद र मनोरम वातावरण माझीटारका विशेषता हुन् ।
नमूना शहरोन्मुख फिदिम अहिले व्यवस्थित शहरका रूपमा विकसित हुँदैछ । नेपाल सरकारको नमूना शहर विकास योजना अन्तर्गत फिदिमलाई पनि प्राथमिकतामा राखिएको छ । एक दशक अघि नयाँ शहर आयोजनाको कार्यालय स्थापना पछि यहाँ सडक, पूर्वाधार र शहरी विकासका थुप्रै कामहरू भएका छन् । अहिले सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमा रुपान्तरण भएको यस कार्यालय मार्फत वार्षिक रूपमा १० करोडभन्दा बढी बजेटका पूर्वाधार निर्माण भइरहेका जनाएको छ ।
पहिले साँघुरो रहेको फिदिम बजारको मुख्य सडक अहिले दुई लेनमा विस्तार गरिएको छ । सडक डिभाइडरमा रोपिएका फूलबोट र झिलिमिली सडकबत्तीले रात्रीकालीन फिदिमलाई अझ आकर्षक बनाएको छ । स्थानीय सरोकारवाला र फिदिम नगरपालिकाको पहलमा मेची राजमार्ग विस्तारको क्रममा दुई बर्ष अघि भत्काइएको लिम्बुवान गेटको निर्माणकार्य प्रारम्भ भएको छ । लिम्बुवान गेटले यहाँको इतिहास, संस्कृति र पहिचानलाई झल्काउनेछ ।
यसरी पूर्वी पहाडको ट्रान्जिट फिदिम आज व्यवस्थित र आधुनिक नमूना शहरका रूपमा उभिने यात्रामा अघि बढिरहेको छ । आगन्तुकको सम्मान र सत्कारमा सधैं तत्पर रहने फिदिम तपाईंको आगमनको पनि प्रतीक्षामा छ ।